म्यान्माको सेनाले द्वन्द्वग्रस्त क्षेत्रमा विवाह समारोहको तयारी भइरहेको घरमा हवाई आक्रमण गर्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ। घटनामा मृत्यु हुनेको सङ्ख्या १७ सम्म पुगेको हुन सक्ने एक प्रत्यक्षदर्शीले बताएका छन्।
शनिबार शान र कायाह राज्यको सीमावर्ती क्षेत्र मोए बाइस्थित एक गाउँमा उक्त आक्रमण भएको हो। आक्रमणमा विस्थापित दुई व्यक्तिको विवाहका लागि तयारी भइरहेको घरलाई निशाना बनाइएको प्रत्यक्षदर्शीले बताएका छन्।
उनका अनुसार विमान उडेको आवाज सुने पनि आफ्नो क्षेत्रमा बमबारी नहुने ठानेका थिए। केही समयपछि ठूलो विस्फोट भएको र घटनास्थलबाट धुवाँ निस्किएको उनले बताए।
उद्धारका लागि घटनास्थल पुगेका उनले १७ वटा शव देखेको र धेरै मानिस घाइते भएको जानकारी दिए। स्थानीयले उपलब्ध गराएका तस्बिरमा महिला र बालकसहित कम्तीमा ६ वटा शव देखिएका छन्। यद्यपि, एएफपीले तस्बिर तथा भिडियोको स्वतन्त्र पुष्टि गर्न सकेको छैन।
घटनाबारे म्यान्माको सेनाको प्रतिक्रिया प्राप्त हुन सकेको छैन। सन् २०२१ को सैन्य कूपछि म्यान्मामा गृहयुद्ध जारी छ। एसीएलईडीका अनुसार द्वन्द्वमा एक लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ।
Comments
Post a Comment