अशोक यादव | ११ मंसिर
रौतहटको दुर्गा भगवती गाउँपालिका–५, बडहर्वामा २४ वर्षीया गर्भवती महिला कलावती देवीको रहस्यमय मृत्यु भएको घटना सार्वजनिक भएको छ।
२–३ महिनाकी गर्भवती रहेकी कलावतीको मृत्यु भएपछि माइती पक्षलाई जानकारीसमेत नदिई शवको दाहसंस्कार गर्न खोजिएको अवस्थामा प्रहरीले हस्तक्षेप गरी शव नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
मृतकका माइती पक्षले उनका श्रीमान् दिलीप दास तत्मासहित घरपरिवारका अन्य सदस्यले कुटपिट गरी हत्या गरेको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएका छन्।
माइती पक्षका अनुसार मंसिर ९ गते राति करिब ९:१० बजे कुटपिटका कारण कलावतीको मृत्यु भएको थियो। त्यसपछि शुक्रबार बिहान करिब ४ बजे बागमती नदी किनारमा लगेर शव जलाउन थालिएको उनीहरूको आरोप छ।
घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले दाहसंस्कार भइरहेको अवस्थामा शवको छातीको केही भाग बाँकी रहेको फेला पारेपछि उक्त अवशेष नियन्त्रणमा लिएको थियो।
माइती पक्षको जाहेरीका आधारमा मृतकका श्रीमान्सहित तीन जनालाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
Comments
Post a Comment