रौतहट ११ मंसिर ।
उच्छृङ्खल समूहले हुलदङ्गा मच्चाएपछि ‘रौतहट एक्सपो २०८३’ अन्तर्गत सञ्चालन हुँदै आएका सम्पूर्ण सांगीतिक तथा सांस्कृतिक कार्यक्रमहरू स्थगित गरिएको छ ।
रौतहट उद्योग वाणिज्य संघ र निर्माण व्यवसायी संघ रौतहटले आज (मंसिर ११ गते) एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै हिजो राति एक्सपो परिसरमा केही अराजक तत्त्वहरूले अवाञ्छित गतिविधि गरी कार्यक्रम बिथोलेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
ओझेलमा परेको गौर बजारलाई चलायमान बनाउने र स्थानीय आर्थिक गतिविधि प्रवर्द्धन गर्ने उद्देश्यले करिब १५ वर्षपछि साहसका साथ एक्सपो आयोजना गरिएको विज्ञप्तिमा उल्लेख छ । जिल्लाको प्रतिष्ठासँग जोडिएको भव्य महोत्सवलाई केही गलत मानसिकता बोकेका व्यक्तिहरूले ‘अश्लीलता’को संज्ञा दिँदै बदनाम गर्न खोज्नु र गौरवासीको इज्जतमाथि आँच पुर्याउनु अत्यन्त निन्दनीय रहेको आयोजकको ठहर छ । घटनामा संलग्न दोषीहरूको पहिचान गरी कानुनबमोजिम कडा कारबाही गर्न सुरक्षा निकाय र स्थानीय प्रशासनसमक्ष जोडदार माग गरिएको छ ।
यस्ता अराजक प्रवृत्तिलाई समयमै नियन्त्रण नगरिए भविष्यमा गौरमा ठूला सार्वजनिक तथा आर्थिक महोत्सवहरू आयोजना गर्न कुनै पनि संघसंस्था अग्रसर नहुने जोखिम बढेको विज्ञप्तिमा औंल्याइएको छ ।
रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष रविन्द्र नाथ गोपाली र निर्माण व्यवसायी संघ रौतहटका कोषाध्यक्ष बिक्रान्त बिक्रम नेपालद्वारा हस्ताक्षरित विज्ञप्तिअनुसार अब एक्सपोमा सांगीतिक कार्यक्रम नभए पनि मनोरञ्जनात्मक झूला तथा फुड स्टलहरू भने साँझ ६ बजेसम्म यथावत् सञ्चालन हुनेछन् ।
सर्वसाधारणका लागि प्रवेश पूर्ण रूपमा निःशुल्क गरिएकाले मेलामा सहभागी भई स्थानीय व्यापार प्रवर्द्धनमा सघाउन आयोजकले सम्पूर्ण जिल्लावासी, उद्योगी, व्यवसायी तथा नागरिक समाजलाई अपिल गरेको छ ।
Comments
Post a Comment