Menu

प्रधानमन्त्री बालेन र राष्ट्रपतिबीच अध्यादेश र भारत भ्रमणबारे छलफल

news and updates |
Friday, November 27, 2026
Featured

काठमाडौं ११ मंसिर ।

भारत भ्रमणमा प्रस्थान गर्नुअघि परम्परागत शिष्टाचार भेट नगरेको भन्दै आलोचना खेपिरहेका प्रधानमन्त्री बालेन्द्र शाहले स्वदेश फर्किएको तीन दिनपछि आज (शुक्रबार) राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । शीतल निवासमा करिब २० मिनेट भएको उक्त भेटमा प्रधानमन्त्री शाहले आफ्नो भारत भ्रमणका उपलब्धिहरू र राष्ट्रपति कार्यालयमा विचाराधीन रहेका अध्यादेशहरूका विषयमा छलफल गरेका छन् ।

भेटका क्रममा प्रधानमन्त्री शाहले भारत भ्रमण निकै सफल रहेको बताउँदै भारतबाट प्राप्त हुने ठूलो आर्थिक प्याकेज र भैरहवा हवाई रुट सम्बन्धमा जुटेको सहमतिलाई महत्वपूर्ण उपलब्धिका रूपमा राष्ट्रपतिसमक्ष ब्रिफिङ गरेका थिए । यसअघि सरकार प्रमुख विदेश भ्रमणमा निस्कनुअघि राष्ट्रपति तथा विपक्षी दलका नेताहरूसँग परामर्श गर्ने स्थापित प्रचलन रहे पनि प्रधानमन्त्री शाहले यसपटक ती दुवै परम्परा तोडेका थिए ।

रोचक के रह्यो भने, भ्रमण जानुअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेटेका प्रधानमन्त्रीले फर्किएपछि पनि पहिले लामिछानेसँगै भेटवार्ता गरेर मात्र शीतल निवासको यात्रा तय गरेका थिए । शुक्रबार नै प्रधानमन्त्री पुग्नुअघि सभापति लामिछानेले राष्ट्रपति पौडेलसँग करिब ४० मिनेट संवाद गरेका थिए । लामिछाने बाहिरिएलगत्तै प्रधानमन्त्री शाह राष्ट्रपति भवन प्रवेश गरेका हुन् ।

स्रोतका अनुसार भेटमा प्रधानमन्त्री शाहले सरकारले सिफारिस गरेका अध्यादेशहरू तत्काल जारी गरिदिन राष्ट्रपतिसमक्ष आग्रह गरेका थिए । हाल संसद् अधिवेशन नचलेको र थुप्रै कानुन निर्माण गर्नुपर्ने अवस्था रहेकाले अत्यावश्यक ठानेरै अध्यादेश ल्याउनुपरेको तर्क उनले पेस गरेका थिए ।

हाल राष्ट्रपति कार्यालयमा तीनवटा अध्यादेश प्रमाणीकरणको पर्खाइमा छन् । संसद्को बर्खे अधिवेशन अन्त्य भएपछि सरकारले प्रेस काउन्सिल ऐन संशोधन अध्यादेश, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधनसम्बन्धी अध्यादेश र जेनजी आन्दोलनका घटनासम्बन्धी मुद्दाको छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग अध्यादेश सिफारिस गरेको थियो ।

करिब पाँच महिनाभन्दा लामो समय चलेको बर्खे अधिवेशन सकिएलगत्तै सरकारले गत कात्तिक १७ गते प्रेस काउन्सिल ऐन संशोधन अध्यादेश अघि बढाएको थियो । राष्ट्रपति कार्यालयमा पुगेको तीन साता बितिसक्दा पनि प्रेस स्वतन्त्रताजस्तो संवेदनशील विषयमा संसद् छलेर अध्यादेश ल्याइएको भन्दै राष्ट्रपति पौडेल निर्णय लिन अनिर्णित देखिएका छन् । नेपाल पत्रकार महासंघलगायत सरोकारवाला निकायले उक्त अध्यादेशले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता कुण्ठित गर्ने भन्दै राष्ट्रपतिको ध्यानाकर्षण गराइसकेका छन् । मौलिक हकसँग जोडिएका कानुनहरू संसदीय प्रक्रियाबाहिरबाट आउँदा पर्न सक्ने दूरगामी असरबारे राष्ट्रपति कार्यालयले सूक्ष्म अध्ययन गरिरहेको छ ।

जवाफमा राष्ट्रपति पौडेलले प्रधानमन्त्री शाहलाई लोकतान्त्रिक संस्थाहरूको गरिमा र महत्त्वबारे स्मरण गराएका थिए । सामान्य राजनीतिक शिष्टाचारको बेवास्ता गर्ने र संसद्लाई छलेर अध्यादेश ल्याउने कार्यशैलीप्रति सङ्केत गर्दै राष्ट्रपतिले लोकतान्त्रिक प्रणालीमा संस्थाहरूलाई सम्मान र बलियो बनाउँदा मात्र व्यवस्था सुदृढ हुने धारणा राखेका थिए । वर्तमान सरकार गठन भएयता संसद् छलेर १३ वटा अध्यादेश जारी भइसकेका छन् भने थप ३ वटा विचाराधीन अवस्थामा छन् ।

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments