हमासले आफ्नो राजनीतिक प्रमुख खलिल अल–हय्याका छोरा इज्ज अल–दीन शुक्रबार इजरायली आक्रमणबाट जोगिएको दाबी गरेको छ।
बीबीसी अरबीका अनुसार हमासले उक्त घटनालाई उनको हत्या गर्ने प्रयासका रूपमा व्याख्या गरेको छ। हमासका नेता बासिम नईमले समाचार संस्था रोयटर्सलाई शुक्रबार बिहान सबेरै भएको हवाई आक्रमणबाट इज्ज अल–दीन र उनको परिवार सुरक्षित रहेको बताएका छन्।
हमासका स्रोतका अनुसार आक्रमणमा धेरै जना घाइते भएका छन्। घाइते हुनेमा इज्ज अल–दीनकी श्रीमती पनि रहेकी छन्। यद्यपि, घटनामा कसैको मृत्यु भएको छैन। इजरायली सेनाले भने यस घटनाबारे अहिलेसम्म कुनै टिप्पणी गरेको छैन। सेनाले घटनाको अनुसन्धान भइरहेको जनाएको छ।
बासिम नईमका अनुसार इज्ज अल–दीनको जन्म सन् १९९७ मा भएको हो। उनी खलिल अल–हय्याका जीवित रहेका एकमात्र छोरा हुन्। इजरायली सेनाले यसअघि उनका अन्य चार छोराको हत्या गरिसकेको छ। नईमले शुक्रबारको आक्रमणमा खलिल अल–हय्याका यसअघि मारिएका एक छोराका परिवारका सदस्यहरू पनि सुरक्षित रहेको बताएका छन्।
हमासले जारी गरेको विज्ञप्तिमा इजरायली सेनाले एक आवासीय अपार्टमेन्टमा आक्रमण गरेको उल्लेख गरेको छ। उक्त संगठनले यस घटनालाई इजरायलका रक्षामन्त्री इजरायल काट्जले खलिल अल–हय्यालाई दिएको धम्कीसँग जोडेको छ।
यस घटनाबारे इजरायलका तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।
Comments
Post a Comment